वारिश(Attorney) सम्बन्धी व्यवस्थाः-

वारिश भन्नाले के बुझिन्छ ?
मुद्दामा हाजीर हुनुपर्ने व्यक्ति वा पक्ष विपक्ष(झगडिया) ले आफ्नो सट्टामा आफुले गर्नु पर्ने सम्पूर्ण काम कारवाही गर्न वा प्रतिनिधित्व गर्न नियुक्त गरेको प्रतिनिधिलाई वारिश भनिन्छ। अर्को शब्दमा वारिशको अर्थ "प्रतिनिधि" हो भन्ने बुझिन्छ। त्यस्तो अख्तियारी दिई नियुक्त गरेको लिखतलाई "वारिशनामा" वा अख्तियारनामा भनिन्छ।
वारिशको प्रकारः-
सामान्यतया वारिश २ प्रकारका हुन्छनः-
(क)साधारण वा सामान्य वारिश
(ख)अधिकृत वारिश
(क) साधारण वा सामान्य वारेशः-
कुनै मुद्दामा मात्र सिमित रहने गरी हाजीर भई मुद्दा दर्ता गरी पुर्पक्ष गर्न वा तोकिएको तारेखमा उपस्थित भई पुर्पक्ष गर्न प्रतिनिधिको रुपमा वारिश मुकरर गरेकोलाई साधारण वा सामान्य वारिश भनिन्छ। यस्तो वारिश भएको मुद्दामा सो मुद्दा किनारा भएपछि वारिशको अधिकार वा अस्तित्व सामाप्त हुन्छ। साधारण वारिशले सोही वारिशनामाको आधारमा मुद्दा मिलापत्र गर्न सक्दैन। पक्ष आफैले उपस्थित भई मिलापत्र गर्नुपर्ने हन्छ। तर सम्बन्धित पक्षको तर्फबाट हकदावी छाडी वा नछाडी वा हक दावी छोडाई वा शर्त तोकी मिलापत्र गर्न मन्जुरनामा दिएमा मात्र वारिशले सोही शर्तमा मुद्दा मिलापत्र गर्न सक्दछ(अ.वं. ६५(२) र (४) नं.
(ख) अधिकृत वारेशः-
अधिकृत वारिश सम्बन्धी व्यवस्था मुलुकी ऐन अ.वं. ७१क नं. ७१ख नं. ७१ग नं. र रजिष्ट्रेशनको ११क नं. मा गरिएको पाईन्छ। सो कानूनी व्यवस्था अनुसार मुद्दा किटान गरी दिएको अधिकृत वारिश मुद्दा किटान नगरी दिएको अधिकृत वारिश र अचल सम्पत्ति विक्री गर्न दिएको अधिकृत वारिश गरी ३ किसिमको अधिकृत वारिश दिने लिने व्यवस्था रहेको पाइन्छ।
मुद्दा किटान गरि दिएको अधिकृत वारेशः-
यो वारिश दिन हुने मुद्दामा कुनै व्यक्तिले चाहेमा ऐनले वारिश दिन हुने जुनसुकै व्यक्तिलाई (जस्तो अ.वं. ६८ नं. बमोजिम वारिश लिन दिन हुने व्यक्ति) आफ्नो तर्फबाट मुद्दा दायर गर्न, प्रतिवाद गर्न र त्यस सम्बन्धी अन्य कुनै कानूनी कारवाही गर्न सक्ने गरी अख्तियारनामा लेखि अधिकृत वारिश मुकरर गर्न पाउँछ। अधिकृत वारिशले अख्तियारनामामा लेखिए बमोजिम कुनै खास मुद्दा किटान भएकोमा सोही मुद्दामा मात्र सो अधिकृत वारिशनामामा लेखिएको काम कारवाही गर्न सकिन्छ। सो वाहेक अरु काम गर्न पाउँदैन। आवश्यक परेमा सो अधिकृत वारिशले अख्तियार दिएको मुद्दामा वारिश समेत राख्न पाउँछ। साथै मिलापत्र पनि गर्न पाउँछ। यसरी अधिकृत वारिश मुकर भएको मुद्दामा मुकरर गर्ने व्यक्तिको नाउँमा जारी हुने समाहवान वा इतलायनामा म्याद पुर्जी वा सूचना त्यस्तो अधिकृत वारिशलाई तामेल गर्न सकिन्छ। अ.वं. ७१क नं.
मुद्दा किटान नगरी दिएको अधिकृत वारेशः-
यो वारिश दिन हुने मुद्दामा कुनै व्यक्तिले चाहेमा ऐनले वारिश दिन हुने जुनसुकै व्यक्तिलाई आफ्नो तर्फबाट मुद्दा दायर गर्न, प्रतिवाद गर्न र त्यस सम्बन्धी अन्य कानूनी कारवाही गर्न सक्ने गरी अख्तियारनामा लेखि वारिश मुकरर गर्न पाउँछ। त्यसरी वारिश दिदाँ कुनै खास मुद्दा किटान नगरी सामान्य रुपमा अख्तियार दिएको भए दायर भएको वा पछि दायर हुने वा गर्नुपर्ने जुनसुकै मुद्दामा सो अख्तियारनामामा लेखिएको काम कुरा गर्न सक्छ र आवश्यक परेमा आफूलाई अख्तियार दिएको कुनै पनि मुद्दामा सो अधिकृत वारिशले वारिश राख्न समेत पाउँछ। साथै अधिकृत वारेशले मिलापत्र गर्न पनि पाउँछ। अधिकृत वारिश मुकरर भएको मुद्दामा मुकरर गर्ने व्यक्तिका नाउँमा जारी हुने समाहवान वा इतलायनामा, म्याद पुर्जी वा सूचना अधिकृत वारिशलाई तामेल गर्न सकिन्छ। (अ.वं. ७१क)
अचल सम्पत्ति विक्री गर्न दिएको अधिकृत वारेशः-
आफ्नो हक पुग्ने अचल गैह्र सम्पत्ति वेच विखन गर्दा र रजिष्ट्रेशन हुनुपर्ने लिखत गरी दिने व्यक्ति अड्डामा हाजिर हुन नसक्ने मनासिव कारण देखाई आफूले वेच विखन गर्नुपर्ने अचल सम्पत्ति किटान गरी ऐनले वारिश दिन हुने जुनसुकै व्यक्तिलाई आफ्नो तर्फबाट हक छाडी वेच विखन गर्न सक्ने गरी अख्तियारनामा लेखि अधिकृत वारिश मुकरर गर्न पाउँछ। त्यस्तो अधिकृत वारिशले आफूले पाएको अख्तियारनामा भित्र रही वारिश दिनेको हकमा अधिकृत वारिशले नै रजिष्ट्रेशन गर्न हुन्छ। (मुलुकी ऐन रजिष्ट्रेशनको ११क नं.)
अधिकृत वारिश दिदाको कार्यविधिः-
कुनै अधिकृत वारिश मुकरर गर्दा निम्न लिखित अधिकारीको रोहवरमा अख्तियारनामा लेखी निज द्बारा प्रमाणित गराउनुपर्छ। यसरी प्रमाणित गराउन आएमा सो अधिकारीले पनि प्रमाणित गरी दिनुपर्छ । त्यसरी प्रमाणित नभएको अख्तियारनामाको कुनै कानूनी मान्यता हुँदैन। अ.वं. ७१ ख नं.
(क)नेपाल राज्य भित्र भए कुनै जिल्ला न्यायाधीश
(ख)विदेशमा भए नेपाली राजदूत वा वाणिज्यदूत
२. कस्तो मुद्दामा वारिश राख्न पाउने वा नपाउनेः-
वारिश कस्तो मुद्दामा राख्ने पाउने वा कस्तो मुद्दामा राख्न नपाउने भन्ने मुद्दाको प्रकृतिको आधारमा कानूनी व्यवस्था गरिएको छ।
प्रकृतिको आधारमा मुद्दा २ प्रकारका छनः-
(१) देवानी मुद्दा
(२) फौज्दारी मुद्दा
(१) देवानी मुद्दाः- कुनै व्यक्तिको हक वा अधिकार कसैबाट हनन भएमा सो हकको प्रचलनका लागि उठाएको कारवाहीलाई देवानी प्रकृतिको मुद्दा मानिन्छ र दावी प्रमाणित भएमा हकको प्रचलन कानून बमोजिम हुन्छ। देवानी मुद्दामा मुख्यत हक वा अधिकारको प्रश्न समावेश भएको हुन्छ। देवानी मुद्दा पनि २ किसिमको हुन्छः-
(क) व्यक्तिवादी र
(ख) सरकारवादी
जुनसुकै प्रकारको देवानी मुद्दामा वारिश राख्न पाउँछ। देवानी मुद्दामा वारिश राख्न नपाउने गरी अदालतले आदेश दिनु हुँदैन। (अ.वं. ६५(२) नं.) यसको साथै अ.वं. १३९ नं. बमोजिम बुझिएको व्यक्तिले पनि वारिश राख्न पाउछ।
(१) फौज्दारी मुद्दाः-
कानूनले निषेध गरेको कुनै कार्य गरेमा फौजदारी अपराध हुन्छ। त्यस्ता अपराध संग सम्बन्धित मुद्दालाई फौजदारी प्रकृतिको मुद्दा मानिन्छ। फौज्दारी मुद्दामा अपराधको प्रश्न समावेश भएको हुन्छ। जसको आधारमा अपराधी प्रमाणित भएमा दण्ड सजाय गर्ने लक्ष्य हुन्छ। फौजदारी मुद्दा पनि दुई किसिमको हुन्छः-
(क) दुनियावादी र
(ख) सरकारवादी
दुनियावादी फौजदारी मुद्दामा वारिश राख्न पाउँछ तर सरकारवादी फौजदारी मुद्दामा वारिश राख्न पाउँदैन। अ.वं. ६५ (१) नं. मा कानून बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्ने वा जमानत लाग्ने अवस्थामा जमानत दिन नसकि थुनामा बस्नु पर्ने भएको व्यक्तिले वारिश राख्न पाउँदैन। सो वाहेक जमानत लाग्ने अवस्थामा कानून बमोजिम दिने व्यक्तिले अड्डाबाट वारिश राख्न दिन मनासिव ठहराई इजाजत दिएमा वारिश राख्न पाउँछ।
३. वारिश लिने दिनेको योग्यताः-
१. ऐनले वारिश लाग्ने मुद्दामा वारिश दिने लिने व्यक्तिको उमेर १६ वर्ष पुगेको हुनुपर्ने।
२. एकाघरसंग रहे बसेका नातेदारहरु मध्ये जो सुकैलाई दिन लिने हुने।
३. अरुका हकमा घुस किर्तेमा सजाय पाएको र सो वाहेक नैतिक पतन देखिने अन्य फौजदारी अपराधमा सजाय पाएको व्यक्ति वाहेक जो सुकै व्यक्तिलाई वारिश दिन लिन हुने।
४. विदेशीले वारेश राख्न पाउने सम्बन्धी व्यवस्थाः-
नेपालमा अचल सम्पति जेथा नभएका विदेशी मानिसको नेपालको अड्डामा परेको ऐनले वारिश दिन पाउँने मुद्दामा वारिश दिदा आफूले दावी गरेको ठहरेमा वा आफू उपर पोल उजुर परेको ठहरे लाग्ने ऐन बमोजिम सजाय धरौट राखेमा वा त्यस वापत नेपाल सरहदमा अचल सम्पत्ति जेथा भएका मानिसलाई जमानी दिए मात्र वारिश लाग्न सक्छ(अ.वं. ६६ नं.)
५. साधारण वारिश कायम नरहने अवस्थाः-
१. वारिश भई रहेको व्यक्तिले घुस किर्नेमा सजाय पाएमा
२. नैतिक पतन देखिने फौजदारी मुद्दामा सजाय पाएमा
३. कुनै मुद्दामा थुनिए वा कैद भएमा
४. अ.वं. ७१ नं. बमोजिम कारणीले वारिश बदली अर्को वारिश पठाएमा
५. वारिश राख्ने व्यक्तिको मृत्यु भएपछि निजको दैयादारले अ.वं. ७० नं. बमोजिम आफै मुद्दा सकार गरी पुर्पक्ष गरेमा वा वारिश परिवर्तन गरी पठाएमा
६. पक्षले अ.वं. ७० नं. बमोजिम मुद्दा आफै सकार गरेमा
७. मुद्दा किनारा भएमा
६. अधिकृत वारिश बदर हुने अवस्थाः-
१. म्याद किटान गरी सो म्यादसम्म मात्र अख्तियारनामा कायम रहनेछ भन्ने व्यहोरा उल्लेख भएकोमा सो म्याद भुक्तान भएपछि।
२. कुनै खास घटना वा अवस्था भएपछि अख्तियारनामा कायम नरहने व्यहोरा उल्लेख भएको भए सो घटना वा अवस्था भएपछि
३. सो लेखिए देखि वाहेक अन्य अवस्थामा कुनै व्यक्तिले अख्तियारनामा बदर गराउन चाहेमा सो कुराको लिखित सूचना सम्बन्धित अधिकृत वारिशलाई दिई नेपालका कुनै दुई प्रमुख समाचार पत्रिकामा सवै व्यहोरा खुलाई बदर गरेको सूचना प्रकाशित भएपछि। अ.वं. ७१ ग नं.
७. संगठीत संस्थाको तर्फबाट नियुक्ति गरिने वारिश सम्बन्धी व्यवस्थाः-
कुनै संगठित संस्थाको तर्फबाट हक दावी गरी दायर गरेको वा त्यस विषयमा निजहरु उपर परिरहेको मुद्दा फैसला नहुँदै अघिबाटै सो मुद्दामा पुर्पक्ष गरी आएको काम गर्ने व्यक्ति मरी वा कामबाट हटन गई तारेख गुज्रन गएकोमा सो मुद्दा पुर्पक्ष गरी आएमा साविकबालाले नालेश उजुर गरेको वा प्रतिवादी दिएको कुरा कायम गराई माग्न निमीत्त त्यसको काम गर्नालाई मुकरर भएका हालवालाले तारेख गुज्रेको मितिले बाटाका म्याद वाहेक ३५ दिन भित्र मुद्दा सकार गर्न आए मुद्दाबाट हारजीत हुँदा अघि पुर्पक्ष गरी आएको साविकवालाको हानी नोक्सानी नहुने भए मुद्दा हालवालाले सकार गरी पुर्पक्ष गर्न पाउँछ। सकार गराई ऐन बमोजिम गर्नुपर्छ। सकार गर्न नआए कानून बमोजिम छिनी दिनुपर्छ(अ.वं. १७५ नं.)
त्यस्तो संगठित संस्थाको तर्फबाट मुद्दा दायर गर्न अधिकार प्राप्त व्यक्तिले वारिश नियुक्त गरी वारिश मार्फत मुद्दा दायर गर्न र तारेखमा उपस्थित हुन पाउँछ पाउँदैन ? संस्थाको तर्फबाट दायर भएको मुद्दामा मुद्दा दायर गर्ने व्यक्ति आफै तारेखमा नरही वारिश राखेकोमा सो वारिशलाई त्यस्तो संगठित संस्थाको वारिश भन्न मिल्छ मिल्दैन ? मुद्दा दायर गर्ने व्यक्तिको पदावधी समाप्त भएपछि वा मृत्यु भएपछि वारिश तारेखमा उपस्थित रहेको छ भने त्यस्तो व्यक्तिको पदावधी समाप्त भएको वा मृत्यु भएको कारणले मात्र संगठित संस्थाको मुद्दामा तारेख गुज्रन मिल्छ मिल्दैन ? भन्ने प्रश्नको सम्बन्धमा सर्वोच्च अदालतबाट दुर्गाबहादुर विरुद्ध नेपाल सरकार विपक्षी भएको मुद्दामा ने.का.प. २०३१ पृष्ठ १९५ नि.नं..... मा केही सिद्धान्तहरु प्रतिपादन भएका छन। जुन यस प्रकार छ।
(१) संगठित संस्थाले मानिस सरह आफै अघि सरेर कुनै मुद्दा दायर गर्न वा प्रतिवाद गर्न वा तारेखका दिन उपस्थित हुन वा सो प्रयोजनको लागी आफैले आफ्नो वारिश नियुक्त गर्न सक्दैन। संगठित संस्थाले गर्नुपर्ने त्यस्तो जुनसुकै काम कारवाहीहरु पनि सो संस्थाको नाउँमा संस्थाको लागि कानून बमोजिम अधिकार प्राप्त व्यक्ति वा व्यक्तिहरुले गर्नुपर्ने हुन्छ।
(२) संगठित संस्थाको तर्फबाट मुद्दा दायर गर्न वा प्रतिवाद गर्न अधिकार पाएको व्यक्तिमा तत्सम्बन्धी प्रयोजनका लागि सो संस्थाको तर्फबाट वारिश नियुक्त गर्ने अधिकार निहित रहेको मान्नुपर्ने हुन्छ।
(३) संस्थाका तर्फबाट अदालतमा उपस्थित हुन वारिश नियुक्त भएकोमा प्रत्यायोजीत अधिकारको पुनः प्रत्यायोजित हुन नसक्ने सिद्धान्तको विपरित भएको भन्न मिल्दैन।
(४) संस्थाको तर्फबाट नियुक्त भएको वारिशले आफूलाई नियुक्त गर्ने व्यक्तिको हक हित वा स्वार्थको प्रतिनिधित्व गर्ने नभई संस्थाको वारिशको रुपमा संस्थाको प्रतिनिधित्व गर्दछ।
(५) वारिश नियुक्त गर्ने व्यक्तिको स्थितिपछि कुनै समयमा परिवर्तन हुन गएको कारणले मात्र वारिशको कानूनी स्थितिमा कुनै फरक पर्दैन। यदि त्यस्तो वारिश तारेखमा वसिरहेको छ भन्ने मुद्दामा संस्थाको प्रतिनिधित्व भई रहेको हुन्छ।
(६) संस्थाको तर्फबाट सो संस्थाको प्रशासकिय प्रमुखले आफ्नो पदको नाताको हैसियतबाट मुद्दा सकार गर्न वा तारेख थाम्न पाउँछ।
८. वारिशनामा वा अख्तियारनामा लिखतमा उल्लेख हुनुपर्ने कुराहरुः-
(१) लिखतमबाट शुरु गरी वारिश दिनेको बतन, नाम, थर लेखि "आगे" लेख्नुपर्छ र "आगे" पछि कहाँ बस्ने को संग के मुद्दामा कसलाई वारिश दिन लागिएको हो, सो खुलाउनुपर्छ।
(२) ऐन बमोजिम झगडियाले वारिश दिदा "मेरो फलाना संगको फलाना मुद्दामा पुर्पक्ष गर्नलाई मेरो ऐन बमोजिम वारिश दिन हुन फलाना (बतन, नाम, थर लेखी) लाई वारिश गरी पठाएको छु। निजले मुद्दा हार जितमा मेरो मंजुर छ। मुद्दा फैसला हुँदा म आफै हाजिर भई जो परेको बुझाउँला । अदालतबाट लागेको दण्ड जरिवाना दशौद आदेशले बाँकी रहेको कोर्ट फी सरकारी विगो मैले बुझाउन बाँकी छैन बाँकी रहेको ठहर यो अख्तियारनामा बदर गरी कानून बमोजिम होस" भन्ने व्यहोरा (अ.वं. ६५ नं. को देहाय ३) वारिशनामा खुलाउनुपर्छ।
(३) वारिशनामा कहाँ लेखिएको छ भन्ने खुलाउनु पर्छ। किनाराको साक्षीको रोहवरमा लेखिएको सहीछाप गरिदिएको र अन्तिममा "इति सम्बत" भनी मिति लेखिएको उल्लेख हुनुपर्छ।
(४) वारिशनामाको वाँया किनारामा २ जना अन्तर साक्षी, १ जना लेखक साक्षी समेत ३ जना साक्षीको नाम थर बतन लेख्ने ठाउँ खाली राख्नु पर्छ।
(५) बायाँ किनाराको खाली ठाउँमा भन्ने कच गरी २ जना अन्तर साक्षी र १ जना लेखक गरी जम्मा ३ जना साक्षीको नाम थर बतन समेत उल्लेख हुनुपर्छ। लेखक साक्षीको प्रमाणपत्र नं. समेत उल्लेख हुनुपर्छ।
(६) बायाँ किनाराको शिर हरफ नेर र पुछार मिति बन्दमा दायाँ बायाँ भन्ने लेखी वारिश दिनेको दुवै बुढी औलाको ल्याप्चे सही छाप लगाउनुपर्छ र लेख्न जाने भए लिखत सही पनि गराउनुपर्छ।
(७) अन्तर साक्षी र लेखक साक्षीको बायाँ किनारामा सही छाप गराउनु पर्छ।
(८) वारिशनामा लेख्ने कागज फूलस्केप साइजको नेपाली कागज हुनुपर्छ।
(९) वारिशको अख्तियारनामा दाखिला भए पछि अ.वं. ६५ को देहाय ३ बमोजिम अड्डा वा अदालतले वारिश हुनेको सरकारनामा " म फलानोको फलाना मुद्दामा ऐन बमोजिम वारिश भए अदालतबाट लागेको दण्ड जरिवाना दशौद सरकारी विगो आदेशले बाँकी रहेको कोर्ट फी मैले बुझाउन बाँकी छैन" भन्ने सरकारनामा कागज गराउनुपर्छ"
८. न्यायीक काम कारवाहीमा यी कानूनी लिखतहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको पाइन्छ।
धन्यवाद !!! संकलन धनु लेकाली