Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

अभियोगपत्रको नमूना

अभियोगपत्रको नमूना

 

श्री कीतिपुर जिल्ला अदालतमा

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ३२ अन्तर्गत दायर गरेको

अभियोगपत्र

संबत् २०७५ सालको स.फौ.मु.नं......

 

प्र.ना.नि.कृष्ण नाथ समेतको प्रतिवेदन जाहेरीले नेपाल सरकार ....................................वादी

बिरुद्दः

लगन देव साहको नाती,असर्फि साहको छोरा भारत पूर्वीचम्पारण आदामपुर थाना, नकदेही ग्राम बस्ने

 

वर्ष २० को सुदिश कुमार साह ..............................................................‍............प्रतिवादी

धन राज महत्तोको नाती रामेश्वर कुश्वाहको छोरा भारत पूर्वीचम्पारण आदामपुर थाना, कटकेनवा

ग्राम बस्ने वर्ष १९ को आर्यन कुमार .................................................................प्रतिवादी

मुद्दाः लागू औषध खैरो हेरोईन भनि झुक्याई अन्य पदार्थको कारोबार गरेको ।

 

केशको संक्षिप्त व्यहोराः

 

१.                खानतलासी पुर्जीको व्यहोरा:-

तपाँई समेतले लागू औषध खैरो हेरोईन कारोबार गर्दै आएको भन्ने बिशेष सुराकबाट सूचना प्राप्त भएकोले तँपाईको जिउ (शरीर)समेतको कानुन बमोजिम खानतलासी गर्नुपर्ने भएकोले मुलुकी ऐन अ.ब.१७२ बमोजिम खानतलासी पुर्जी दिईएको छ भन्ने व्यहोराको प्रतिबादीहरु सुदिस कुमार साह र आर्यन कुमारको नामको अलगअलग शरीर खानतलासी पुर्जीहरु ।

२.   खानतलासी तथा बरामदी मुचुल्काको व्यहोरा:-

मिति २०७५।०६।०४ गते१४:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.१४ कलंकी स्थित बाबा पेट्रोल पम्पको अगाडि सार्वजनिक सडक किनारामा उभिई एक आपसमा कुरा गरि बसेको अबस्थामा सुदिस कुमार साह र आर्यन कुमारले लागु औषधको कारोबार गर्दछन भन्ने विशेष सुराकीको आधारमा निजहरुलाई नियन्त्रणमा लिई निजहरुको शरीर कानून बमोजिम तलासी लिंदा सुदिस कुमार साहको साथबाट लागु औषध खैरो हेरोईन ३० (तिस) ग्राम र कालो रंगको एन.सेल.र एरटेलको सिम सहितको सामसुङ्ग मोवाईल थान १ र निज सगै साथ रहेका अर्र्का आर्यन कुमारको साथबाट लागु औषध खैरो हेरोईन २० (विस) ग्राम, २८८८१४३३०८९६ नम्वरको भारतिय आधार कार्ड थान १, एन.सेल.र एरटेलको सिम सहितको  व्क्ष्ख्क्ष् लेखिएको मोवाईल थान १ र आईडियाको सिम भएको कालो रंगको नोकिया मोवाईल थान १ समेतका चिजबस्तुहरु फेलापारी बरामद गरेको भन्ने समेत व्यहोराको खानतलासी बरामदी मुचुल्का

 

   प्रहरी प्रतिबेदनको व्यहोरा:

प्रतिवादी सुदिस कुमार साह र आर्यन कुमारलाई मिति २०७५।०६।०४ गते १४:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं. १४ कलंकी स्थित बाबा पेट्रोलपम्पको अगाडि सार्वजनिक सडक किनारामा फेलापारेकोमा सुदिस कुमार साहको साथबाट लागु औषध खैरो हेरोईन ३०(तिस) ग्राम र कालो रंगको एन.सेल.र एरटेलको सिम सहितको सामसुङ्ग मोवाईल थान १ र निज संगै साथ रहेका अर्र्का आर्यन कुमारको साथबाट लागु औषध खैरो हेरोईन २० (विस) ग्राम, २८८८१४३३०८९६ नम्वरको भारतिय आधार कार्ड थान १, एन.सेल. र एरटेलको सिम सहितको  व्क्ष्ख्क्ष् लेखिएको मोवाईल थान १ र आईडियाको सिम भएको कालो रंगको नोकिया मोवाईल थान१ सहित पक्राउ गरी आवश्यक कारवाहीको लागी दाखिला गरेको भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

 

४.   लागू औषध नमूना निकालेको मुचुल्काको व्यहोरा:

प्रतिवादी सुदिस कुमार साहको साथबाट बरामद लागू औषध खैरो हेरोईन ३० ग्राम र आर्यन कुमारको साथबाट बरामद २० ग्राम मध्येबाट परिक्षण गर्न पठाउन, अदालत र अनुसन्धान अधिकृतले नमूना राख्न कानून बमोजिम ३ ठाउँमा ३/३ ग्रामको दरले अलगअलग नमूना निकाली खामबन्दी लाहछाप गरेको मुचुल्का ।

५.   प्रतिवादी आर्यन कुमारको बयान कागजको व्यहोरा:

      साथी सुदिस कुमार साहले म कहाँ आई काठमाण्डौमा लागू औषध खैरो हेरोईन ५० ग्राम प्रविण भन्ने व्यक्तिले मगाएकोले काठमाण्डौ जाऊँ तिमीलाई पनि आएको रकम मध्येबाट रु.५०००।दिउला भनि वताएकाले म पनि आर्थिक प्रलोभनमा परी लागू औषध खैरो हेरोईन बोकी निज सुदिस कुमार साह संगै काठमाण्डौ आउने निधो गरे । त्यसपछि निज सुदिस कुमार साहले मलाई २० ग्राम लागु औषध खैरो हेरोईन बोक्न दियो र आफुले ३० ग्राम खैरो हेरोईन राखी हामी दुवैजना भारत रक्सौलबाट नेपालको विरगंज आई बस चढी काठमाण्डौ आयौ । काठमाण्डौ आएपछि हामीहरुसंग लागू औषध खैरो हेरोईन खरिद गर्ने प्रविण भन्ने व्यक्तिले म आउदैछु भनि ल्याण्डलाईनबाट फोन सुदिसलाई गरेका थिए । यसरी फोन गरेपछि हामीहरु निजलाई का.जि.का.म.न.पा.वडा नं.१४ कलंकी स्थित कुरी रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा मेरो साथबाट २० ग्राम लागू औषध खैरोहेरोईन, मोवाईलहरु र साथी सुदिश कुमार साहको साथबाट ३० ग्राम लागू औषध खैरो हेरोईन र मोवाईल फेलापारी बरामद गरी हामी दुवैलाई पक्राउ गरी ल्याएको हो । मेरो साथबाट बरामद नेपाली ९८२१२२५३२६ नंम्वरको एन.सेलको सिम मलाई लागू औषध काठमाण्डौमा लिन आउने व्यक्ति यसमा सम्पर्क गर्छ राख भनि सुदिश कुमार साहले दिएको हो । उक्त सिम मैले आफ्नो मोवाईलमा हालेको थिए । पछि बुझ्दा निज प्रविण भन्ने व्यक्ति प्रहरीका सुराकी रहेछन् । निजले नै हामीलाई पक्राउ गराउन लगाएका रहेछन् भन्ने समेत व्यहोराको प्रतिवादी आर्यन कुमारको बयान ।

 

६.   प्रतिवादी सुदिस कुमार साहको बयान कागजको व्यहोरा:

मेरो घर भारत पुर्वीचम्पारण आदमपुर थाना, नकदेही ग्राममा पर्दछ । म भारत रक्सौलमा घर बनाउने मिस्त्रीको काम गर्दछु । मैले चिनेका भारत मुजफ्फरपुर बस्ने डब्बु भन्ने व्यक्तिले लागू औषध खैरो हेरोईन ५० ग्राम काठमाण्डौ लगी प्रविण भन्नेलार्ई दिई निजबाट ४० हजार रुपैयाँ लिई आउनु । त्यसमध्ये आधा रकम तिमीलाई दिउला भनि वताएकाले आर्थिक प्रलोभनमा परि हुन्छ भनि वताए तर निज प्रविण भन्ने व्यक्तिलाई नचिनेकोले के कसरी दिने भनि सोधे । निजले मलाई त्यसपछि एउटा नेपाली सिम सहितको मोवाईल दिई प्रविण भन्नेले यसमा फोन गर्छ । भेटी लागू औषध खैरो हेरोईन दिनु भनि वताए । मैले निजले दिएको ५० ग्राम लागु औषध खैरो हेरोईन र मोवाईल लिए । त्यसपछि म घर नजिकै कटकेनवा ग्राम बस्ने आर्यन कुमार भन्ने साथी समेत कहाँ गई निजलाई मैले रु.५०००।रकम दिउला काठमाण्डौ हिंड भनि वताए । निज काठमाण्डौ आउन राजी भएपछि मैले ल्याएको ५० ग्राम मध्ये २० ग्राम निजलाई राख्न दिई हामी नेपाल आई विरगंजबाट बस चढी काठमाण्डौ आयौ । पछि दिउसो अ.१:३०बजेतिर प्रविण भन्ने व्यक्तिले ल्याण्ड लाईनबाट फोन गरी सामान लिन आउदैछु त्यही कलंकीमा बस्नु भनि वताए । यसरी फोन गरेपछि निजलाई का.जि.का.म.न.पा.वडा नं. १४ स्थितमा कुरी रहेको अवस्थामा प्रहरीले फेलापारी खानतलासी गर्दा मेरो साथबाट ३० ग्राम लागू औषध खैरोहेरोईन, मोवाईल र साथी आर्यन कुमारको साथबाट २० ग्राम लागू औषध खैरो हेरोईन र मोवाईलहरु सहित फेलापारी पक्राउ गरी ल्याएको  हो । पछि बुझ्दा निज प्रविण भन्ने व्यक्ति प्रहरीका सुराकी रहेछन् । निजले नै हामीलाई पक्राउ गराउन लगाएका रहेछन भन्ने समेत व्यहोराको बयान 

 

७.   लागू औषध नष्ट गरेको मुचुल्काको व्यहोरा:

      प्रतिवादी सुदिस कुमार साहको साथबाट बरामद लागू औषध खैरो हेरोईन ३० ग्राम र आर्यन कुमारको साथबाट वरामद २० ग्राम मध्येबाट नमूना निकाली बाँकी रहेको खैरो हेरोईन क्रमस २१ ग्राम र ११ ग्राम गरी जम्मा ३२ ग्राम मिति २०७५।०६।१० गते काठमाण्डौ जिल्ला अदालतको लागू औषध नष्ट गर्ने स्थानमा बिभिन्न कार्यालयका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरेको मुचुल्का ।

 

८.   राष्ट्रिय बिधिबिज्ञान प्रयोगशालाको परिक्षण प्रतिबेदनको व्यहोरा:

      प्राप्त नमुनाहरु परिक्षण गर्दा लागू औषध नदेखीएको भन्ने समेत व्यहोराको अलग अलग परिक्षण प्रतिवेदनहरु।

 

 

अभियोग

प्रस्तुत मुद्दामा लागू औषध नियन्त्रण व्यूरोबाट अनुसन्धान कार्य सम्पन्न भई निर्णयार्थ पेश हुन आएको मिसिल संलग्न खानतलासी बरामदी मुचुल्का, प्रहरी प्रतिबेदन, प्रतिबादीहरुको बयान, लागू औषध परिक्षण प्रतिवेदन समेतबाट मिति २०७५।०६।०४ गतेका १४:०० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.१४ कलंकी स्थित बाबा पेट्रोलपम्पको अगाडि सार्वजनिक सडक किनारामा उभिरहेको अवस्थामा प्रतिवादी सुदिस कुमार साहको साथबाट लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो ३० ग्राम र प्रतिवादी आर्यन कुमारको साथबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो २० ग्राम विक्री गर्न  हिडेको अवस्था पक्राउ परेको वारदात स्थापित हुन आयो ।

      प्रतिवादीहरुबाट लागू औषध खैरो हिरोईन नपाईएको भन्ने परिक्षण प्रतिवेदनबाट  देखीएको अवस्था हुदा प्रतिवादीहरुले लागू औषध खैरो हिरोईन  हो भनि झुक्याई अन्य पदार्थको कारोबार गरेको अवस्था अनुसन्धानको क्रममा संकलित प्रमाणहरुबाट देखिन्छ।

   प्रतिवादीहरुले भारत मजफ्फपुर बस्ने डब्बु भन्ने व्यक्तिसंग  सम्पर्क गरी निजबाट ५०ग्राम लागू औषधखैरो हिरोईन जस्तो बरामदी पदार्थ लिई काठमाडौंमा ल्याई प्रविण भन्ने व्यक्तिलाई दिने र निजले रु ४००००/ दिन्छ त्यसमध्ये  २००००/हजार आफूले राखी वाकी मलाई दिनु भनी पठाएकोमा उक्त वस्तु परीक्षण गर्दा लागू औषध नपाईएको हुदा प्रतिवादीहरुले  जानी जानी लागू पदार्थ जस्तो देखिने खैरो धुलोलाई खैरो हेरोईन भनी झुक्याई विक्री गरी रकम लिनको लागि साथमा  बोकि प्रविण भन्ने व्यक्तिलाई विक्री गर्न पर्खि बसेको अवस्थामा ५० ग्राम वरामदी चिज  वस्तु सहित पक्राउ परेको हुदा पक्राउमा परेका प्रतिवादीहरु सुदिस कुमार साह र आर्यन कुमार ले लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को देहाय खण्ड (घ) र दफा १७ (क)बमोजिमको कसुर अपराध गरेको पुष्टि हुन आएको हुँदा उक्त कसूरमा प्रतिवादीहरु सुदिश कुमार साह र आर्यन कुमारलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१)(छ) (२)को आधारमा दफा १७(क)बमोजिम सजाय हुन  मागदावी लिई प्रतिवादीहरु सुदिस कुमार साह र आर्यन कुमारलाई यसै अभियोगपत्र साथ पेश गरिएको व्यहोरा सादर अनुरोध छ।

साथै लागू औषध खैरो हेरोईन खरिद बिक्री समेतको कारोबारमा संलग्न भएका भारतीय नागरिक डब्वु भन्ने व्यक्ति नेपाल सरहद भित्र पक्राउ परी आएका बखत कानुन बमोजिम हुने व्यहोरा समेत अनुरोध छ ।

 

सबुद प्रमाणः

 

गवाहः प्र.ना. नि.कृष्ण नाथ ।

 

देख्नेसुन्नेः बरामदी मुचुल्काका मानिसहरु राम बहादुर मगर,हरिलाल भगत, शंकर शाह, भिम आले

 

दशी प्रमाणः

क)   सुदिश कुमार साहको साथबाट बरामद

१. कालो रंगको एन.सेल.र एरटेलको सिम सहितको सामसुङ्ग मोवाईल थान १

ख)    आर्यन कुमारको साथबाट बरामद

१. २८८८१४३३०८९६ नम्वरको भारतिय आधार कार्ड थान १ ।

२. एन.सेल.र एरटेलको सिम सहितको व्क्ष्ख्क्ष् लेखिएको मोवाईल थान १

३. आईडियाको सिम भएको कालो रंगको नोकिया मोवाईल थान १

ग)    परिक्षण प्रश्चात बाँकी रही फिर्ता आएको नमुना थान १ र अनुसन्धानको क्रममा राखिएको नमूना थान-२ समेत

प्रस्तुत कागजातहरुः

1=    मिति २०७५।०६।०४गतेको सुदिस कुमार साहको नामको खानतलासी पुर्जी ।

2=    मिति २०७५।०६।०४गतेको आर्यन कुमारको नामको खानतलासी पुर्जी ।

3=    मिति २०७५।०६।०४गतेको पाना ४ को खानतलासी बरामदी मुचुल्का ।

4=    मिति २०७५।०६।०४गतेको सुदिस कुमार साहको नामको पक्राउ पुर्जी ।

5=    मिति २०७५।०६।०४गतेको आर्यन कुमारको नामको पक्राउ पुर्जी ।

6=     मिति २०७५।०६।०४गतेको प्र.ना.नि.कृष्ण नाथ समेतको प्रतिवेदन ।

7=    मिति २०७५।०६।०४गतेको कान्तिपुर अस्पताललाई लेखिएको पत्रसहित स्वास्थ्य परीक्षण प्रतिवेदन।

8=    मिति २०७५।०६।०४ गतेको पाना २ को अनुसन्धान अधिकारी तोकिएको पत्रको फोटोकपी ।

9=    मिति २०७५।०६।०४गतेको सुदिस कुमार साहको नामको थुनुवा पुर्जी ।

10=  मिति २०७५।०६।०४गतेको आर्यन कुमारको नामको थुनुवा पुर्जी ।

11=  मिति २०७५।०६।०५ गतेको अनुसन्धान अधिकृत खटाइएको पत्र ।

12=  मिति २०७५।०६।०५ गतेको प्रारम्भिक प्रतिवेदन पठाईएको पत्र ।

13=  मिति २०७५।०६।०५ गतेको काठमाण्डौ जिल्ला अदालतलाई लेखिएको पत्र ।

14=  मिति २०७५।०६।०५ गतेको पहिलो पटक म्याद थप गरेको पत्र ।

15=  मिति २०७५।०६।०५ गतेको लागू औषध नमुना निकालिएको मुचुल्का ।

16=  मिति २०७५।०६।०७ गतेको राष्ट्रिय बिधि बिज्ञान प्रयोगशाला खुमलटार ललितपुरलाई लेखिएको पत्र।

17=  प्रतिवादीको साथबाट वरामद लागु औषध खैरोहेरोईनको फोटो र प्रतिवादीको फोटोको पाना २ ।

18=  मिति २०७५।०६।०७ गतेको नमूना प्राप्ति भरपाई ।

19=  मिति २०७५।०६।०९ गतेको बयान कार्यको लागि लेखिएको पत्र ।

20=  मिति २०७५।०६।०९ गतेको प्रतिवादी आर्यन कुमारको पाना ४ को बयान कागज ।

21=  मिति २०७५।०६।०९ गतेको प्रतिवादी सुदिस कुमार साहको पाना ५ को बयान   कागज ।

22=  मिति २०७५।०६।०९ गतेको जिल्ला अदालत समेतलाई लागु औषध नष्टको लागी प्रतिनिधि खटाईदिन लेखेको पत्र ।

23=  मिति २०७५।०६।१० गतेको लागु औषध नष्ट गरेको मुचुल्का ।

24=  मिति २०७५।०६।१८ गतेको दोश्रो पटक म्याद थप गरेको पत्र ।

25=  प्रतिवादीहरुको औठाछाप ।

26=  मिति २०७५।०६।२४ गतेको जिल्ला प्रहरी कार्यालय पर्सालाई लेखेको पत्र ।

27=  मिति २०७५।०६।२५गतेको राष्ट्रिय बिधिबिज्ञान प्रयोगशालाको पत्रसाथ प्राप्त पाना २ को परीक्षण प्रतिवेदन ।

28=  मिति २०७५।०६।२९ गतेको तेश्रो पटक म्याद थप गरेको पत्र ।

 

यसै अभियोग पत्रबाट प्रस्तुत मुद्दाको शुरु कारवाही गरी किनारा हुन सादर अनुरोध छ ।

 

 

 

      ..............................

(                                   )

 सहायक जिल्लान्यायाधिवक्ता

 

   ईति सम्वत् २०७५ साल ......महिना ...... गते रोज ...... शुभम्  ..........................।

 

 


Post a Comment

Previous Post Next Post